काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टी सभापति शेरबहादुर देउवालाई तपाईं राजा हो र? भन्दै प्रश्न गरेका छन्।
बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गौतमले हरेक हुकुम किन मान्नुपर्ने भन्दै प्रश्न गरेका हुन्। उनले पार्टी विधि र विधानले नचलेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
उनले भने, ‘पार्टी विधि र विधानले चलेन सभापति ज्यू,पार्टी विधि र विधानले चल्नुपर्छ। हामी पार्टीको विधि र विधानले चल्छौं भन्ने सकल्प पारित गरौं। पार्टीभित्रको धेरै समस्या त्यसैमा लुकेको छ।’ नेता गौतमले नेतृत्वले जे गरे पनि तर आफूहरुले बोल्न पनि नहुने कस्तो खाले राजनीति हो? भन्दै प्रश्न गरे।
उनले थपे, ‘पार्टीमा टिकट कसले बाँड्ने हो? संसदीय बोर्ड त छैन। मन्त्री कसले बनाउने हो? संसदीय बोर्ड छैन। हामीले यो परिस्थितिलाई कसरी मूल्यांकन गर्ने? कि यहाँहरू राजा हो? हामीले यहाँहरूको हुकुम मान्नुपर्ने हो? कि विधिले हामीहरुलाई निर्देशित गर्ने हो?’ उनले पार्टी राम्रोसँग चलाउनका लागि विधि मान्नु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।