काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रकाश रसाइली स्नेहीले महामन्त्रीलाई बिचार र बबुरा भनेका छन्। उनले अधिकार सबै सभापतिलाई भएको भन्दै महामन्त्रीको अवस्थालाई ‘चरी जेलैमा’ भन्दै टिप्पणी गरे।
‘म महामन्त्री बिचरा, बबुरा महामन्त्रीलाई देखिरहेको छु। यो विधानमा अधिकार खोज्यो केही पाइँदो रहेनछ। चरी जेलैमा। सबै सभापतिले गर्ने भनेको रहेछ। सबै। अनि केही कुरा हुँदैन। नभइसकेपछि बाहिर आउँछ,’ उनले भने।
उनले महामन्त्रीले सभापतिलाई र सभापतिले महामन्त्रीलाई सहयोगी भावना राख्नुपर्ने सुझाव दिए।
‘पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रष्ट लेखेको छ। नेवि संघलाई पूर्णता कसले दिने, सही छाप कसले गर्ने, भातृ संस्था र शुभेच्छुक संस्था कसले बनाउने, विभागीय प्रमुख र सदस्य कसले बनाउने, कति महिनाभित्र बनाउने?’ उनले भने, ‘आदरणीय सभापतिज्यू, यो विधानमा भएको कुराहरु अक्षरशः भदौ मसान्तभित्र पारित गरौँ। नेपाली कांग्रेस पार्टीलाई २०८४ को चुनावमा होइन, २०१५ सालको चुनावमा हामी पुर्याउछौँ। तपाईंहरु हामीलाई काम दिनुस्।’
उनले पार्टीभित्र चरम गुटबन्दी छ भनेर आफूले नभन्ने पनि बताए। उनले भने, ‘शेखर दाइ निकै सहयोगी हुनुहुन्छ। म त्यो कुरा प्रष्टै भन्छु। आजसम्म पार्टीका बारेमा कुनै विवाद भएको छैन। ११ महिनासम्म बैठक नबस्ने कुरा कुन पार्टी सदस्यले ठीक थियो भन्छ? अनि कहिले बैठक बस्ला भनेर हामी केन्द्रीय सदस्यले टुलुटुलु हेरेर बस्नुपर्ने?’
सभापति देउवाले कांग्रेसको इतिहासमै सबैभन्दा सहयोगी प्रतिपक्षी पाएको स्नेहीको भनाइ थियो। ‘यति धेरै सहयोगी प्रतिपक्षी नेपाली कांग्रेसको इतिहासमा मैले देखेको थिइनँ। शेखर दाइ पछाडि कुनामा बस्नुभएको छ। उहाँले कुनै भातृसंस्थामा अब्जेक्सन जनाउनुभएको छैन,’ उनले भने।
स्नेहीले कांग्रेसले भ्रष्टाचार हुने बित्तिकै मुख थुन्छ, कानमा रुइ हाल्छ, आँखा बन्द गर्छ भन्ने आरोप लाग्ने गरेको बताए। ‘एउटा व्यक्तिका बारेमा होइन। हाम्रा पार्टीका कुनै नेताहरु होलान् वा नहोलान्। नेपाली कांग्रेस भन्ने पार्टीले यो महामन्त्रीको प्रतिवेदनमा सन्त नेता कृष्णप्रसाद भट्टराई नभए सुशील दाइका नाममा साताव्यापी भ्रष्टाचार विरोधी अभियान देशैभर सञ्चालन गर्न जरुरी छ,’ उनको प्रस्ताव थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।