काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज (बिहीबार) पनि बस्दै छ। बिहीबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबार बसेको हो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा अजेन्डाहरु प्रस्तुत गरेका थिए। यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।
मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्। बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए।
केन्द्रीय सदस्यहरुको आज (बिहीबार) पनि आफ्नो धारणा राख्नेछन्। बुधबार आफ्नो धारणा राखेका केन्द्रीय सदस्यमध्ये अधिकांशसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरे। सँगसँगै सभापति शेरबहादुर देउवाको बचाउ पनि गरे।
केही केन्द्रीय सदस्यहरुले प्रदेश समितिले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पोखे। यस्तै, केही सदस्यहरुले पार्टी केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म सरकारमा रहे पनि जनतामा आशा जगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।