काठमाडौं– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताएका छन्।
बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको उनले दाबी गरे।
उनले विगतमा भित्र एउटा र बाहिर अर्को हुनेकुरालाई लाइभका कारण रोकिने विश्वास लिएको उनको भनाइ थियो। उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए।
अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रीय समितिको बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए।
पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए।
यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रामहरि खतिवडाले कांग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पुर्याउनुपर्ने बताए। दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने उनको भनाइ थियो। उनले केही क्षणका लागि हुने मुद्दामा पार्टी केन्द्रित नहुने बताए। उनले क्रियाशील सदस्य पार्टीको जग बलियो बनाउनका लागि भएको दाबी गरे।
बैठकपछि बोल्दै नेता नैनसिंह महरले कोशी प्रदेशकझ नामकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताए। उनले केन्द्रीय समितिको बैठक लाइभ गरेको विषय राम्रो भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।