काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपाल र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको उल्लेख गरे।
नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउँदै उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको धारणा राखे। समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिँदै सांसद भण्डारीले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुभएको अर्थ नरहेको जिकिर गरे।
भण्डारीले भने, ‘नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भयो। नेपाल र नेपालीका लागि गर्न सकेन। अहिले हामीले हाम्रा युवाहरु बाहिर जान्छन् नि, त्यही शिक्षाको परिणाम हो। हामीले तल्लो तह, क्याम्पस र उच्च शिक्षामा हाम्रा धेरै चुनौती छन्, यी सबै लिडरसिपको कारण हो। हाम्रो पाठ्यक्रम पनि समयानुकलु छैन, परीक्षा प्रणाली पनि समायानुकुल छैन।’
सांसद भण्डारीले नेपालमा कुन शिक्षा प्रणाली अपनाउने हो, त्यो स्पष्ट हुनुपर्ने बताए। उनले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरु पलायन हुने क्रम नरोकिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।