काठमाडौं- गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र पोखरेल नेपालीले कांग्रेस प्रतिस्पर्धी भनेर अनुमान नै नगरेका दलसँग किन प्रतिस्पर्धा गर्न बाध्य भइरहेको छ, खोजी गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्।
काठमाडौंमा चलिरहेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले हालै तनहुँमा भएको उपनिर्वाचन र अन्य जिल्लाको निर्वाचनको नतिजामा जसरी अनुमान नै नगरेको दल प्रतिस्पर्धामा आएको छ, यसबारे समयमै सोच्नुपर्ने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै नेपाली कांग्रेसले २०८४ को निर्वाचनको तयारी अहिले नै गर्नुपर्ने दाबी गरे।
गठबन्धन बनाएर निर्वाचन जाने कुरा पनि अब समीक्षा हुनुपर्ने माग गर्दै नेपालीले गठबन्धन बनाएर जाने निर्णय पार्टीले गरेपछि स्वीकार गरेर गएको निर्वाचनमा आएका परिणामहरु केलाउनुपर्ने बताए। जुन जिल्लामा गठबन्धन हैसियत अनुसार भयो त्यो सत्ता गठबन्धनको पक्षमा भएको र हैसियत नभई जबरजस्ती दाबी गरिएको क्षेत्र गुमाउनु परेको दाबी उनले गरे।
अहिलेको अवस्था र निर्वाचन प्रणालीमा पनि ठूलो पार्टीको रुपमा नेपाली कांग्रेस आउनु राम्रो भएको तर यसलाई अझै विस्तार गर्नुपर्ने देखिएको उनले बताए। आगामी दिन झन् चुनौती थपिएको दाबी नेपालीको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।