काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले रिक्त रहेका ऐन कानुनलाई पूर्णता दिनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्।
बुधबार शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री राईले राजनीतिक अस्थिरताका कारण शिक्षा क्षेत्रमा समस्या उत्पन्न भएको बताए। उनले भने, `पैसा, जनशक्ति र भौतिक संरचनाबाट मात्रै समस्या उत्पन्न भएको छैन। हाम्रो मानसिकता र सोचमा मुख्य समस्या छ। यसलाई तोड्न जरूरी छ।’
शिक्षा मन्त्री राईले शिक्षा सम्बन्धी ऐन निर्माणको क्रममा रहेको बताए। `ऐन कानुनको रिक्ततालाई पूर्णता दिनु मेरो मुख्य काम हो। पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलजीले ल्याउनु भएको मस्यौदा अगाडि लैजाने काम मेरो हो। विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्मा पुगेको छ। धेरै ऐन परामर्शका लागि अर्थमा पुगेको छ। छिटोभन्दा छिटो कसरी ऐन जारी गर्ने भन्नेमा केन्द्रित रहेको छु।’
उनले न जारी गर्नका लागि आगामी मन्त्रिपरिषद्मा केही नीतिगत निर्देशन गर्ने सहमति भएको दाबी गरे। ऐन कानुनको रिक्तता हुनु ज्यादै आपत्तिजक भएकाले यसलाई प्राथमिकता दिइएको उनले बताए।
सीटीईभीटीलाई नयाँ ढंगले परिमार्जन नगरेरसम्म शिक्षाको राष्ट्रिय उद्देश्य हासिल हुन नसकेको बताउँदै शिक्षा मन्त्री राईले त्यसका लागि तीन वटा कार्यदल बनाएर मन्त्रालयले काम अगाडि बढाइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।