काठमाडौं– सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक करिब एक वर्षपछि मंगलबारबाट काठमाडौंमा सुरु भएको छ। बैठकमा १० वटा एजेण्डा प्रस्तुत गरिएका छन्। पार्टीको सांगठनिक प्रस्तावमाथि पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी गराएका छन्।
महामन्त्री थापाले साउनदेखि २०८१ असारमसान्तसम्म समेटिएको वार्षिक क्यालेण्डर प्रस्तावको रुपमा पेस गरेका छन्। महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावमा २२ वटा विभागहरुको थप, दुईदुई महिनामा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने, सात लाख सदस्य थप्ने लक्ष्यका साथ एक वर्षीय अभियान चलाउने, मंसिर १५ देखि माघ १५ सम्म घरघरमा कांग्रेस अभियान सञ्चालन गर्ने लगायतका छन्।
निर्वाचन परिचालन केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा जानकारी गराएका थिए।
संस्थापन पक्षले एक वर्ष भ्रष्टाचार र पार्टी गतिविधिका बारेमा प्रष्ट पार्नुपर्नेमा जोड
करिब एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक बसेपछि केन्द्रीय सदस्यहरु भने उत्साहित देखिएका छन्। बुधबारबाट उनीहरुले आफ्ना कुराहरु खुलेरै बोल्ने प्रतिक्रिया दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको इतिहासदेखि वर्तमान अवस्थासम्मको समीक्षा हुनुपर्नेमा जोड दिए।
नेपाल लाइभसँग कुरा गर्दै नेता केसीले भने, ‘आम जनतामा हिजो नेपाली कांग्रेसको आकर्षण थियो। अहिले विकर्षण पैदा भइरहेको छ। त्यसलाई समेटेर जानुपर्छ। महामन्त्रीद्वयले प्रस्तुत गर्नु भएको प्रस्ताव सकारात्मक छ। त्यसले केही सुधार हुन सक्छ। अरु विश्लेषण हुनै बाँकी छ। हामीले बोल्नै बाँकी छ,’ उनले भने, ‘पार्टीको संस्थापन पक्षले यो एक वर्ष भित्रको आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोणलाई कसरी सोचिरहेको छ? नेतृत्वले प्रष्ट गर्नुपर्छ।’
नेता सिंहले एक वर्षसम्म पार्टीको केन्द्रीय समितिको अनुपस्थितिमा केके भयो? निर्वाचन, सरकार गठन, विघटन, प्रदेश सरकार परिवर्तन, गठन लगायतको विषय आउनु पर्ने बताए। उनले नेपाली जनतामा भ्रष्टाचारका विषयमा आवाज उठेको भन्दै यस विषयमा कांग्रेस कहाँ उभिएको छ भन्ने विषयमा समेत नेतृत्वले आधिकारिक धारणा दिनुपर्ने बताए।
कार्यसम्पादन समिति विधान अनुसार गठन हुनुपर्छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले १० महिनापछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेर लाइभ गरेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘महामन्त्री गगन थापाजीले अत्यन्तै आवश्यक २२ वटा विभाग गठनको कुरा प्रस्तावित गर्नुभएको छ। २१औं सताब्दीमा यो अत्यन्तै आवश्यक थियो। त्यसको कार्यान्वयन पक्ष ठूलो हो।’
उनले कार्यसम्पादन समिति विधान अनुसार बनाउनु पर्नेमा जोड दिए। उनले यसअघिका विभागहरु पूर्णता नपाएको भए पनि आगामी भदौभित्र पूर्णता पाउनेमा विश्वास व्यक्त गरे।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नै नबसेको भन्नेमा सत्यता छैन
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बाहिर हौवा फैलाए जस्तो पार्टीको बैठक नै नबसेको कुरा सत्य नभएको भन्दै बचाउन गरिन्। उनले भनिन्, ‘पार्टीको बैठक नै नबसेको चाहिँ होइन। बाहिर जति हौवा फैलाइएको छ त्यसमा सत्यता छैन। पार्टीको १३औं महाधिवेशनमा कार्यसम्पादन समिति नै थिएन। त्यति बेला सानो समिति थियो। केन्द्रीय समिति बोलाउन सजिलो थियो। त्यस कारण त्यो बेलाको बैठक र अहिलेको फरक छ।’
उनले इमर्जेन्सी अवस्थामा बैठक बस्ने गरेको दाबी गरिन्। उनले विगतमा पार्टीको कार्यसमितिको बैठकका निर्णय अनुमोदनका लागि पेस गरेको बताइन्। उनले पटकपटक भातृ संगठनका विषयमा केन्द्रीय समितिको बैठकमा उठाएकाले त्यसले चाँडै मूर्तरुप पाउने बताइन्। उनले नेतृत्वले विधान नमिचेको बताइन्।
कांग्रेस केन्द्रीय सदस्य कुन्दन अर्यालले पार्टीमा आन्तरिक विषय लगायतका विषयहरु उठान हुने बताए। उनले पार्टीका मुद्दाहरु धेरै भएकाले ती सबै मुद्दाहरुको सम्बोधन हुने बताए। उनले लेखेर मात्रै नभएर अब चाहिँ त्यो कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे। कांग्रेसमा जनताहरुको विषयहरु उठ्ने दाबी गर्दै बैठक नै लाइभ गरेको अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।