काठमाडौं- नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन्।
मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताए।
एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो। विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन्।
उनले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे। कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गरे।
उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए। उनले जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र
कमजोरी नगरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।