काठमाडौं– नेपाली कांग्रेस रुपान्तरण अभियानले तयार गरेको प्रतिवेदन कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाइको छ। मंगलबार केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको थियो। तर उनले समय नदिएपछि मुख्यसचिवलाई बुझाइएको हो। उनीमार्फत् देउवालाई प्रतिवेदन पठाइएको अभियन्ताहरुले बताएका छन्।
अभियानले विभिन्न राजनीतिक घटनालाई लिएर कांग्रेसमा सुधार आवश्यक रहेको निष्कर्षसहित अध्ययन र छलफलबाट प्रतिवेदन तयार गरेको हो। पार्टी रुपान्तरणका प्रमुख मुद्दा र समाधानका विकल्पबारे नेपाली कांग्रेस रुपान्तरण अभियानद्वारा ७ वटै प्रदेश तथा विदेशस्थित जनसम्पर्क समितिहरु (डायस्पोरा) सँगको प्रथम चरणको छलफल सम्पन्न गरी काठमाडौं उपत्यकामा उपलब्ध प्राध्यापक, महिला तथा तरुण नेताहरुसँग समेत अन्तरक्रिया गर्दा प्राप्त सुझावहरुका आधारमा प्रतिवेदन तयार गरिएको हो।
‘पार्टी रुपान्तरणका लागि प्राप्त महत्त्वपूर्ण सुझावहरुलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय एवम् कार्यान्वयनका लागि हार्दिक अनुरोध गर्दछौँ,’ रुपान्तरण अभियानले भनेको छ।
प्रारम्भिक मस्यौदामा कांग्रेसका रुपान्तरणका केही अजेन्डाहरु प्रस्तुत गरिएको छ। जसमा पार्टीको सैद्धान्तिक, वैचारिक मौलिकताको रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्यलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने, पार्टी सदस्यता प्रणालीलाई खुला, सहज र पारदर्शी बनाउनुपर्ने, पार्टीका सबै तहले विधानमा तोकिए बमोजिमका काम, कर्तव्य र अधिकारको पूर्ण पालना गर्ने तथा त्यसको अनुगमन र मूल्यांकनको व्यवस्था गर्नुपर्ने लगायतका २१ बुँदे अजेन्डाहरु प्रस्तुत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।