काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सरकारले भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही होइन भ्रष्टाचार गर्नका निम्ति काम गरिरहेको आरोप लगाएका छन्।
सोमबार एमालेको नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको पार्टी कार्यालय, च्यासलमा बसेको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै उनले ललितानिवास जग्गा प्रकरणमा अहिले सरकारले चालेको कदम कर्मचारीलाई साइजमा ल्याउन र व्यापारीबाट पैसा असुल्ने अभियान भएको आरोप लगाए।
ललितानिवास जग्गा प्रकरण पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा बनाइएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि कारबाही अगाडि बढाउनका लागि आफूले प्रधानमन्त्री रहेकै समयमा प्रहरीको अनुसन्धान विभाग सीआईबीलाई पत्र पठाएको उनको भनाइ थियो।
ओलीले अहिले मुलुकको राजनीति आफूले राम्रो काम गर्ने नभइ अरुलाई बेठिक कसरी देखाउने भन्ने ढंगले अगाडि बढेको र गठबन्धनमा रहेको दलहरू राजनीतिलाई अपराधीकरणतर्फ लैजान सहयोगी बनिरहेको बताए। गठबन्धन सरकार अत्यन्त पूर्वाग्रही, दमनकारी रहेकाले यसलाई सुझाव, सल्लाह दिनु व्यर्थ हुने ओलीको भनाइ थियो।
उनले राजनीति आस्थाहीन, आदर्शहीन हुँदै गएको, वर्तमान गठबन्धनले समाज, राष्ट्रियता र विकासलाई ओरालो लगाउँदै गएको, सामाजिक/सांस्कृतिक क्षेत्रमा अधोपतनतर्फ लागिरहेको चर्चा गर्दै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने अभिभारा एमालेको काँधमा रहेको बताए।
‘विकसित देश, सामाजिक न्यायसहितको शान्तिपूर्ण समाज निर्माणका लागि हामीले निर्धारण गरेको गन्तव्य एकदम सही छ, सफल पार्न सकिन्छ। त्यसकारण पार्टीका आधारभूत नीतिका आधारमै अगाडि बढ्नुपर्छ, यो प्रतिष्ठान र यसले बनाउने विभिन्न डेस्कहरू,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।