कांग्रेस सभापति शेरबहादुर देउवा (फाइल तस्बिर)
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ। केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा तय गर्न बैठक बोलाइएको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दै छ। यसअघि असार २७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि साउन २ गतेका लागि सारिएको थियो।
केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन्।
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सोमबार दिउँसो २ बजे, पार्टी सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने जनाइएको छ।
पार्टीको संस्थापन (सभापति देउवा) इतर समूहले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको निलम्बनको विषय उठाउने तयारी गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई कांग्रेसले निलम्बन गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।