काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
शान्ति सुरक्षा सदृढीकरणका लागि गृहमन्त्री श्रेष्ठले आइतबार सुरक्षा निकायका पूर्व उच्च अधिकारीसँग अन्तर्क्रिया गरेका हुन्। गृहमन्त्री श्रेष्ठले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए।
श्रेष्ठले मन्त्रालय विधि, पद्दतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने? र उनीहरुलाई जनमुखी अभिमुखीकरणमा कसरी लैजाने? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए। उनले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिए।
मन्त्री श्रेष्ठले भने, ‘हाम्रो गृह मन्त्रालयअन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, शसस्त्र प्रहरी बल नेपालमा, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने? । विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान नदिइकन जनतालाई जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभूति छ। आन्तरिक रुपमा हाम्रा संगठनहरुलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभुति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ। कार्यदक्षता प्रभावकारी नबनाइ काम गर्यो भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन। यसमा पनि हाम्रो ध्यान दिनुपर्छ। डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।