फाइल तस्बिर
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार भंग गर्न माग गरेको छ। सचिवालय बैठकले कोशी प्रदेशमा असंवैधानिक ढंगले सरकार गठन गरिएको भन्दै तत्काल भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ।
पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लंघन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो।
सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान वितरीत भएको र यो संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको एमालेको ठहर छ।
‘कोशी प्रदेश सभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ’, सचिवालयको निर्णयमा भनिएको छ, ‘नेपालको सविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ। संविधानले कहिँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन।’
सभामुखले दलीय आबद्धताबाट अलग हुने प्रचलन रहेको भन्दै एमालेले सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको दाबी गरेको छ।
‘नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रर्त्सना गर्दछ। असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ’ सचिवालयको निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।