चितवन– वि.सं ०५७ मा सय शय्याबाट सुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४ सय ७५ शय्याको हुने भएको छ। तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो।
हाल अस्पतालमा २ सय २५ शय्या सञ्चालनमा छन्। नयाँ भवनमा २ सय ५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने निर्देशक डा. आचार्यले बताए।
नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन्। अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४ सय ७५ शय्या पुग्ने निर्देशक डा. आचार्यले बताए।
टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ। हाल २० मेडिकल अफिसरसहित १ सय विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन्। अस्पतालमा नेपालका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन्।
नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन्। ती उपकरण नयाँ खरिद गरिएका हुन्। नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ। अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए।
कार्यकारी निर्देशक आचार्य १ वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा ३ सय बिरामी आउने गरेकोमा बढेर ६ सय नाघेको र शय्या थपिएसँगै बिरामीको संख्या बढ्न सक्ने उनको भनाइ थियो। गतवर्ष अस्पतालबाट १ लाख ३१ हजारले सेवा लिएका थिए।
चालु आवमा दुई लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ। अस्पतालमा आउने बिरामीमध्ये ८ देखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।