काठमाडौं- झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महाराजगञ्जस्थित कतार भिषा सेन्टर अगाडिबाट खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई पक्राउ गरेको छ।
गुरुङले असार १३ गतेदेखि प्रसाईंलाई फोन गर्दै धम्क्याउँदै रकम माग गरेको पाइएको छ। उनले मारिनुपर्ने व्यक्तिको दोस्रो नम्बरमा प्रसाईंको नाम रहेको भन्दै सुरुमा ३० करोड रुपैयाँ माग गरेका थिए।
उनले फोनमा प्रसाईंलाई ‘३० करोड ठिक पार्नु नत्र कात्रो तयार पार्नु’ भन्दै धम्की दिएको पाइएको सीआईबीका एक अधिकृतले जानकारी दिए।
धम्की आएपछि प्रसाईं सीडीओ कार्यालय पुगेका थिए। त्यहाँबाट उनी प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए। यस बीचमा पनि धम्क्याउँदै रकम माग गर्ने काम भने रोखिएन।
३० करोडबाट सुरु भएको बार्गेनिङ २० करोड, १५ करोड हुँदै ६ करोड र अन्तिममा ५ करोडमा सहमति भएको थियो। सोही अनुसार उनले प्रसाईंलाई लोकेसन दिएका दिए महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको ठाउँ।
यसबारे सबै जानकारी प्रहरीले लिइसकेको थियो। सोही अनुसार सीआईबीको टोली कतार भिसा सेन्टर अगाडि पुगिसकेको थियो। रकम लिन भनेर पठाओ चढेर आएका बेला सीआईबीले उनलाई पक्राउ गरेको हो।
उनी ८ वर्ष साउदी अरबमा बसेर आएको पाइएको छ। रकम अभाव भएपछि प्रसाईंसँग पैसा हुने भन्दै धम्क्याएर रकम उठाउने उद्देश्यले धम्क्याएको बताएको प्रहरीले जनाएको छ। यो प्रकरणमा अरु पनि संलग्न छन्/छैनन् भन्नेबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।