काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले उक्त आश्वासन दिएका हुन्।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वाससमेत व्यक्त गरे।
अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए। उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ। त्यो ज्यादा छ। त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु। सायद केही न केही सम्बोधन होला। त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ। केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ।’
अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे। उनले कृषिवस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गरे।
अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्याए। उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए। अर्थमन्त्री महतले भने, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने। चाहे उद्योग व्ववसाय होस्, चाहे कृषिजन्य व्यवसाय होस्। त्यसलाई प्रोत्साहन दिने। हरेक चिज हामी आयातित वस्तुमामात्रै निर्भर हुने जुन परिस्थिति छ। त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।