काठमाडौं– जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले निजी क्षेत्रका आयोजनालाई ‘सफ्ट लोन’ (सस्तो ब्याजदरको कर्जा) उपलब्ध गराउने बताएको छ।
एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनप्रसाद गौतमले, एचआइडिसियल अब निजी क्षेत्रले विकास गर्ने जलविद्युत् आयोजनामा पनि एचआईडीसीएलले स्व:पुँजी र ऋण दुवै लगानी गर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा ऊत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई एचआईडीसीएलमा स्वागत गर्दै सीईओ गौतमले एचआईडीसीएल अब ऊर्जा लक्षित पूर्वाधार बैंक बन्नेगरी अघि बढेको र त्यसका लागि कम्पनीको पुँजी २५ अर्ब मात्र भए पनि वित्तीय लिभरेज उपयोग गरेर १ खर्ब ५० अर्बसम्मको लगानी सक्ने अवस्थामा रहेको बताए।
इप्पानले उठाएको लगानी अभावको अवस्थामा सहजीकरण गर्ने विषय एचआईडीसीएलको साझा मुद्दा भएको भन्दै इप्पानसँग मिलेर अघि बढ्ने गौतमको भनाइ थियो। ‘विगतमा जस्तो कम्पनीले अब जलविद्युत् आयोजनाको लाइसेन्स लिँदैन। देशलाई समृद्ध बनाउने ऊर्जा क्षेत्रमा देखिएको वित्तीय लगानीको खाडल पूरा गर्न विदेशबाट ग्रीन फण्ड, पेन्सन फण्ड जस्ता सस्तो फण्ड ल्यएर जलविद्युत्मा लोन र इक्वीटी दुवैमा लगानी गर्छौं,’ गौतमले भने।
विदेशबाट ग्रीन बण्ड ल्याएर वा नेपालमै पनि बण्ड जारी गरेर जलविद्युत् आयोजनालाई ‘सफ्ट लोन’ उपलब्ध गराउन एचआईडीसीएल अघि बढेको उनको भनाइ थियो। ‘लगानी कम्पनीको रुपमा दर्ता भए पनि अब एचआईडीसीएल बैंक तथा वित्तीय संस्थामा रुपान्तरण भइसकेकोले यसको काम सस्तो दरमा ऋण ल्याउने र जलविद्युत् केन्द्रित भएर लगानी गर्ने नै हो,’ गौतमले भने।
इप्पान अध्यक्ष गणेश कार्कीले ७/८ प्रतिशत ब्याजदरमा वित्तीय व्यवस्थापन गरेका आयोजनाको बैंकको ब्याजदर १४/१५ प्रतिशतसम्म पुगेको भन्दै एचआईडीसीएलले निजी क्षेत्रका आयोजनामा गरिएको लगानीको ब्याजदरमा स्थिरता कामय गरिदिए धेरै राम्रो हुने बताए।
निजी क्षेत्रले विश्व बैंक, आईएफसी, एडीबी लगायतका संस्थाबाट ऋण ल्याउन २/३ वर्ष लामो समय लाग्ने भन्दै अध्यक्ष कार्कीले त्यस्ता संस्थाबाट सस्तो दरमा एचआईडीसीएलले फण्ड ल्याएर निजी क्षेत्रमा लगानी गर्नतर्फ केन्द्रित हुन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।