वेस्ट जाभा (इन्डोनेसिया)– १८औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको हो।
आज पाँचौं चरणको खेल सकिएसंँगै नेपालले रजत जितेको हो। यो इभेन्टमा जापानले स्वर्ण जित्न सफल रह्यो। आयोजक इन्डोनेसियाले कास्य पदक हात पारेको छ।
एसियाली खेलकुदमा नेपालले २० वर्षपछि रजत पदक जितेको हो। यसअघि सन् १९९८ को बैंकक एसियाली खेलकुदमा सविता राजभन्डारीले तेक्वान्दोबाट रजत जितेकी थिइन्। योसँगै नेपालले एसियाली खेलकुदमा दोस्रो रजत जितेको छ।
नेपाल जापानसँग २७ अंकले पछि परेको हो। ‘नेपालले पदक जितेकोमा धेरै खुसी लागेको छ,’ नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले भने, ‘तर थोरैै अंकले स्वर्ण जित्न नसकेमा दुुुःखी छौं।’
प्याराग्लाइडिङबाट पदक जित्ने नेपाली टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित थिए। पुरस्कार वितरण समारोहमा पदक विजेता नेपाली टोली निकै उत्साहित देखिन्थ्यो। आसन्न एसियाली खेलकुदका लागि पहिलो पदक दिलाएकोले पनि नेपाली टोलीमा थप उत्साह थपिएको महासचिव राउतले बताए।
समारोहमा नेपालको झण्डोत्तलन गरिँदा रंगशालामा उपस्थित नेपाली समर्थकहरुले नेपाली टोलीको पक्षमा ‘चियर अप’ गरेका थिए।
क्रस कन्ट्री इभेन्ट इन्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो। यसै इभेन्टको महिला भने नेपाल छैटौं भएको छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।