प्रकाशशरण महत (फाइल तस्बिर) काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन्। अन्योलका बीचमा पनि आफूले जहाज कुराहरुलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको महतको दाबी छ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका महतले शुक्रबार पार्टी मुख्यालय सानेपामा आयोजित प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गरे।
कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेको भन्दै महतले निष्पक्ष रुपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको दाबी गरे। कसौँडीमा पाक्नसक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको महतले टिप्पणी गरे।
महतले भने, ‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ। अनेकौँ खाले अन्योलताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो। तर मैले दृढ निश्चय गरेर बजेट ल्याएँ। जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्नसक्छ, त्यसलाई मध्यनजर राखेर कसैको मुख नहेरीकन, कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजस्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरुलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु। मैले कसैलाई फाइदा पुग्ने, नपुग्ने गरी होइन, आम नागरिकको आकांक्षाअनुसार ल्याएको छु, सुशासन, पारदर्शीतालाई मध्यनजरमा राखेर लोभ मोह नराखी अघि बढाएको छ। एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? अब हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्कुलोमा पकाउँदा पनि पुग्दैन। त्यो अवस्थामा के हुन्छ, सबैको भावनाको सम्बोधन गर्न सकिँदैन। आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुनेछ।’
मन्त्री महतले नयाँ पार्टीहरुले आकाशको तारा झार्छु भन्दा पनि नागरिकहरु मान्न तयार रहने स्थिति देखिएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।