काठमाडौं– राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य र कृषिमन्त्रीबीच घोचपेच चलेको छ।
२०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० को अवसरमा नेपाल कृषि अनुसन्धान परिषद्ले शुक्रबार ललितपुरको खुमलटारमा मूल समारोह आयोजना गरेको थियो।
धानको उत्पादन तथा उत्पादकत्व बढाउने विषयमा नीतिगत र प्राविधिक विषयबारे छलफल हुने अपेक्षा गरिएको कार्यक्रममा कृषि तथा पशुपंक्षीमन्त्री बेदुराम भुसाल र योजना आयोगका सदस्य जयकान्त राउतबीच घोचपेच चल्यो।
सुरुमा मन्तव्य राखेका सदस्य राउतले दिवस मनाएर मात्रै धानको उत्पादन बढाउन नसकिने भन्दै दिवस मनाउनुको औचित्यमाथि नै प्रश्न उठाए। ‘हरेक वर्ष एउटा नारा दिएर धान दिवस मनाउने गरेका छौँ। तर किन असफल हुन्छौँ? किन अहिलेसम्म हामी धानमा आत्मनिर्भर छैनौँ? विगतका महोत्सवहरुले के कति परिवर्तन भए? धान दिवस ताझामका साथ मनाउछौँ, तर धान उत्पादन वृद्धि गर्न सकेका छैनौँ,’ राउतको भनाइ थियो।
त्यसपछि मन्तव्य दिएका कृषिमन्त्री भुसालले राउतको भनाइ ठाउँ र प्रसँगअनुसार नमिलेको बताए। राउतलाई लक्षित गर्दै मन्त्री भुसालले सम्बन्धित विषय सम्बन्धित ठाउँङ्गा बोल्नुपर्ने बताए।
‘म त सम्बन्धित विषय सम्बन्धित ठाउँमा मात्रै बोल्छु। जयकान्तजी योजना बनाउँदा तपाईंनै हुनुहुन्छ। के–कति ठगेर बनाउनु भयो। तपाईंलाई थाहा होला,’ मन्त्री भुसालले भने।
मन्त्री भुसालले यसवर्ष विशेष गरी धान उत्पादन बढाउन बाँझो जग्गालाई सदुपयोग गर्ने कार्यक्रम ल्याइएको बताए। यस वर्ष मल अभाव नहुने र मलका कारण धान उत्पादनमा समस्या नआउने मन्त्री भुसालको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।