काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले धानको उत्पादन बढाउनका लागि सरकारले सिँचाइ सुविधाको विस्तार लगायत कार्यहरु अगाडि बढाइरहेको बताएका छन्।
राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयन जस्ता कार्यक्रमहरु सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्दै आइरहेको बताएका छन्।
यद्यपि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चाम आयात वर्षेनी बढ्दै गइरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण सुख्खा–खडेरी, अतिवृष्टि, असमयको वर्षा, वाढी–पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको पनि बताएका छन्।
‘यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पुरा गर्न कठिन हुने र यसले गर्दा हाम्रो खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्नसक्ने देखिन्छ,’ प्रधानमन्त्री आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक छ।’
प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलित धानका जातहरु र उत्पादन प्रविधिको विकास र अवलम्बनमार्फत् दीगो रुपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सबैमा आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।