काठमाडौं– मकवानपुरको राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने भएको छ। आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रममार्फत् अन्यत्रबाट बसाइँ सरी उक्त गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।
दुर्गम भेगबाट बसाइँ सरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गर्न गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ‘घर उपहार’ नीति अघि सारेका छन्।
‘गाउँपालिकाका दुर्गम भेगहरूबाट बसाइँसराइ भई सुगम पालिकाहरूमा जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्र गाउँपालिकाभित्रबाट बसाइँ सरी आउनेलाई आकर्षित गर्न ‘सुन्दर समाज, हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
घरको स्वरूप र बनावटबारे कार्यविधि बन्न बाँकी रहेको र विपद्को दृष्टिकोणले जोखिमयुक्त मानिएका खरको छानोको प्रतिस्थापन गर्ने नीति लिइएको छ। सरकारी वा संस्थागत अनुदानबाट निर्मित तथा निजी घरहरूमा एकै रंगको रंग लगाएर गाउँपालिकाको पहिचान कायम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसका लागि ‘हरेक घरको एउटै रंग, सुन्दर शान्त राक्सिराङ’ कार्यक्रम अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।