काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन्।
आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा भुसालले यस्तो बताएका हुन्। उनले सरकारले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उद्देश्य अनुसार काम गर्न नसकेको दाबी गरे।
दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको उनको भनाइ छ। मन्त्री भुसालले बोर्डको काममा सरकार सन्तुष्ट नभएको र खर्च कटौती पुनरवलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए।
उनले सरकार दूध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम हुने बताए। दुग्ध विकास बोर्ड खारेज गरेर सरकारले दूध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाकोभन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको मन्त्री भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।