काठमाडौं– कञ्चनपुर जिल्ला सदरमुकाम रहेको भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र बहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोत (नदीजन्य)बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा ठेकेदार कम्पनीलाई नियम विपरीत छुट दिएर भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ।
महाकाली नदीबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो संकलनका लागि लागि भवानी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएकोमा उक्त कम्पनीलाई राजस्व छुट दिइ ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ राजस्व चुहावट गरेको अख्तियारले जनाएको छ।
अख्तियारले तत्कालीन मेयर विष्ट, प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र १० वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरेको छ।
यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीविरुद्ध २ करोड ११ लाख ६५ हजार ६०८ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना तथा १० वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
मदत्त नगरपालिकामा तत्कालीन राजस्व छुटको लागि गठित कार्यदलका संयोजक वडा नम्बर १७ का तत्कालीन वडाध्यक्ष हिमाल बहादुर चन्द, प्रशासकीय अधिकृत हरि सिंह धामी, सदस्य तथा सम्झौताको साक्षीमा बस्ने इन्जिनियर हिमालय सिंह ऐर र नरबहादुर शाहलाई पनि प्रतिवादी बनाएको छ।
कार्यदलका संयोजक हिमाल बहादुर चन्द तथा सदस्यहरु हिमालय सिंह ऐर, हरि सिंह धामी र नर बहादुर शाहविरुद्ध ८५ लाख ५६ हजार ३०९ रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
अख्तियारले भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरु केशव राज भट्ट, पुष्पराज भट्ट, भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि प्रतिवादी बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।