काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले किसानले आफ्ना उत्पादनको मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ त? भनेर प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नेपाली कांग्रेसका नेता समेत रहेका केसीले किसानले तरकारी तथा फलफूलको मूल्य नपाएर सडकमा फाल्नुपरेकोबारे ध्यानाकर्षण गराए।
‘नेपाल कुषिप्रधान देश जुन वर्ष पनि मल अभावको समस्या छ। खेतीको सिजन हुन्छ त्यहि समयमा कालोबजारी मौलाउँछ। यो दु:खद अवस्थालाई चिरेर जसोतासो उत्पादन गरेका किसानले खाद्यान्न फलफूल तरकारी दूध, खाद्यन्नको न्यूनतम मूल्य नपाएर सडकमा फालाफाल गर्नुपर्ने अवस्था छ। त्यसमाथि उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था छ त्यो अन्त्य हुन्छ त?’ केसीले प्रश्न सोधे।
जवाफमा प्रधानमन्त्री प्रचण्डले कृषि उपजको बजार प्रणालीमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने र किसानले न्यूनतम मूल्य नपाउने अवस्थाको अन्त्य गर्नका लागि प्रमुख खाद्यान्न बालीको सिजन पूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताए। ‘दूध उत्पादक कृषकले पाउने न्यूनतम मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकले पाउने ७० प्रतिक्विन्टलद अनुदान दिने व्यवस्था गरिएको छ र तरकारीको बजार प्रणालीमा देखिएका समस्या विकेन्द्रित प्रणली अपनाई प्रदेश सरकार र सथानीय सरकारलाई समेत जिम्मेवार बनाउने गरी अगाडी बढेको,’ उनले भने।
आधुनिक कृषि बजारको पूर्वाधार व्यवस्थापन गर्न खरिद सुनिश्चितता गरी कार्यक्रम सञ्चालित छन्। बजारको मागअनुसार नासवान कृषि उपज उत्पादन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीले उल्लेख गरे।
प्रधानमन्त्रीले बजार सूचना प्रणलीको समेत व्यवस्था गरिएको बताए। यस्तै, बढी उत्पादन भएका कृषि उपज कोल्ड स्टोरमा राख्ने व्यवस्था तथा सबै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्दै जाने नीति रहेको प्रधानमन्त्रीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।