काठमाडौं– बचतकर्ताको डेढ करोड रुपैयाँ लिएर सहकारी सञ्चालक फरार भएका छन्। काठमाडौंको नयाँ बसपार्कस्थित राईजिङ अप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकसहित बोर्डका सदस्यहरु बचतकर्ताको रकम लिएर फरार भएका हुन्।
बचतकर्ताको १ करोड ६१ लाख २० हजार ९४७ रुपैयाँ ठगेर फरार भएको भन्दै उक्त सहकारीका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। सहकारीका अध्यक्ष हेमन्त खड्का, उपाध्यक्ष ललितबहादुर खड्का, सचिव प्रियराज कार्की, कोषाध्यक्ष मैया राई, सदस्य निराजन अधिकारी, सदस्य सुरेन्द्र शाही ठकुरी, सदस्य मनोहर अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामध्ये उपाध्यक्ष खड्का र सचिव कार्कीमात्रै पक्राउ परेका छन्। बाँकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।
सहकारीमा रकम जम्मा गरे राम्रो ब्याज दिने भन्दै प्रलोभन देखाएर रकम जम्मा गर्न लगाएको, तर पछि साँवा–ब्याज नै नदिइ फरार भएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको थियो भने बाँकी फरार भएका थिए।
उनीहरुविरुद्ध ठगी भएको रकम बराबरको बिगोसँगै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ अन्तर्गतको कसुरमा सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।