काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका हुन्।
उनले प्रधानमन्त्रीसहित द्रुतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताए।
उनले समयमा नै काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिएपनि विभिन्न कारणले ढिला भएको उल्लेख गरे। उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको बताए।
बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको उनले दाबी गरे। मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनशायले योजना छनोट नगरेको उनको भनाइ छ। उनले मन्त्रालयले विभेदपूर्ण रुपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताए।
संघीय अन्तर्गतका सडकहरुमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको उनको भनाइ छ। उनले बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभई प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।