काठमाडौं– नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ङ’ जारी गर्ने भएको छ। उक्त ऋणपत्र यही असार ६ गते जारी गर्नेछ भने ६ वर्षे अवधिको रहेको राष्ट्र बैंकले जनाएको छ।
उक्त ऋणपत्र असार ५ गते बोलकबोलमार्फत\ बिक्री गरिने बैंकले जनाएको छ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत् हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ असार ६ गते परिपक्व हुनेछ। बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब रुपैयाँ र १.५ अर्ब रुपैयाँ छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
आवेदन गर्दा न्यूनतम ५० हजार रुपैयाँसम्म र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन्। खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन पाइनेछ। ऋणपत्रको दोस्रो बजारमा नेपाल स्टक एक्सचेञ्जमार्फत् कारोबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।