काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानको नेतृत्व गर्दै आएका वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। भेटका लागि उनी आइतबार एमाले मुख्यालय च्यासल पुगेका थिए।
ओलीसँग आफूले राखेको विषयबारे गौतमले भने, ‘अध्यक्षसित नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी, एउटा संगठन मसित छ। त्यो ल्याएर मैले एमालेमा एकीकृत गराइदिन्छु। मसहितको। यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ। तपाईंले व्यवस्थापन गर्नुस्। सोध्नुहुन्छ भने सोध्नुस्।’
गौतमले आफूलाई काम गर्ने खालको जिम्मेवारी दिन भनेका थिए। ‘मलाई कुनै पनि नेताको सबैभन्दा ठूलो जिम्मेवारी कसको छ, त्योभन्दा कम जिम्मेवारी पाउने गरी मेरो जिम्मेवारी नदिनुहोला। मलाई पूरै बिहान उठेदेखि राति सुत्दासम्मको अवधिमा मैले काम गर्न पाउनुपर्छ। त्यस्तो जिम्मेवारी दिनुस् भनेको छु’, उनले भने।
गौतमले त्यो सबै व्यवस्थापन पहिले नै भयो भने आफू एमालेमा आउने बताएका थिए।
गौतमले २०७८ भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए। ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु’, उनको राजीनामा पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।