काठमाडौं– बजार भाउ नपाएको भन्दै कालीमाटी तरकारी बजामा किसानहरुले गोलभेडा फ्याँकेका छन्। खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेडा फ्याँकेका कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘हामीहरू त यहाँ थिएनौँ। भाउ नपाएको भनेर किसानहरूले बिहानै गोलभेडा फालेछन्। खासमा उत्पादन बढी भयो। खपत कम भयो। व्यापारीहरुले पनि त कति बिक्री हुन्छ अवस्था हेरेर किन्छन्। व्यापारीले नकिने पछि किसानहरुले फालेका हुन्,’ उनले भने।
एक हप्तादेखि भारतीय गोलभेडा आयात नगरेको उनले बताए। ‘अहिले भारतीय गोलभेडा एक गेडो पनि ल्याएको छैन। यहिँ हाम्रै आन्तरिक उत्पादन हो। यो काठमाडौं वरपरका जिल्लाबाट आउने टमाटर बढी भएको हो,’ उनले भने।
एक हप्ता अघिदेखि ६० देखि ७० टन नेपाली गोलभेडा दैनिक रुपमा कालिमाटी भित्रिएको उनले बताए। हिजो (शनिबार) र आज (आइतबार) भने कालीमाटी तरकारी बजारमा ९५ टन बढी गोलभेडा भित्रिएको बताए।
‘आन्तरिक उत्पादनले नै धानेको थियो। कति किसानले देशैभरका अन्य बजार; पोखरा, बुटवलतिर पठाइरहेका पनि थिए। तर आज एक्कासी कालिमाटीमा ल्याएर फालेका छन्,’ उनले भने।
श्रेष्ठले यस विषयमा किसानहरूसँग छलफल गर्ने बताए। ‘उहाँहरूको समस्या कसरी समाधान गर्ने भन्नेबारे हामी उहाँहरूसँग बसेर छलफल गर्छौँ। तर हामीले उहाँहरुको गोलभेडाको मूल्य निर्धारण गर्ने पनि होइन। उहाँहरूले के–कति उत्पादन गर्नु भएको छ। त्यसको जिम्मा लिने काम पनि होइन। मूल्य दिने भनेको व्यापारीहरूले हो,’ उनले भने।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेल (सानो) गोलभेंडाको थोक बिक्री मूल्य प्रतिकेजी ८ रुपैयाँ तोकेको छ। काठमाडौंका खुद्रा बजारमा भने प्रतिकिलो २५ देखि ५० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको थियो। तर किसानले प्रति केजी ४ रुपैयाँ पनि नपाएपछि पोख्न बाध्य भएको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।