काठमाडौं– व्यापारीले प्याजको मूल्य बढी लिए कारबाही हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै महँगो मूल्यमा प्याज बेच्ने व्यापारीलाई कारबाही हुने जनाएको छ।
बजेट वक्तव्यमा प्याजको आयातमा भ्याट लागेको बाहनामा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको विभागले जनाएको छ।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
‘केही दिनदेखि बजारमा प्याजको मूल्य अत्याधिक वृद्धि भएको भनि पत्रपत्रिकाहरुमा प्रकाशित समाचार एवं यस विभागमा आएका गुनासोप्रति विभागको गम्भिर ध्यानाकर्षण भएको छ। बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन/अनुगमन गरिरहेको छ। आगामी आव ०८०/०८१ को लागि पेश भएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा नियमित रुपमा आपूर्ति भईरहेको वस्तुको स्वाभाविक मूल्य भन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उपभोक्ताको दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा विक्रेता सबैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकिदिएको दायित्व वहन गर्दै पारदर्शी तवरबाट आ–आफ्नो व्यवसाय संचालन गर्न कानून बमोजिम बिल बिजक जारी गरी कारोबार गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउदै यो सूचना जारी गरिएको छ।’
विभागबाट अनुगमनको क्रममा कानुनले तोकिदिएको दायित्व पूरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।