काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ। सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ।
बजेटमध्ये पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने दाबी बजेटमा गरिएको छ।
कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३.६८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात् ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात् ८.८७ प्रतिशत रहने बजेटमा उल्लेख छ।
आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख हुने बजेटमा उल्लेख छ।
संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरेको बजेटमा उल्लेख छ।
त्यस्तैगरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू. ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट रू. ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट रू. ८४ करोड, विशेष अनुदानबाट रू.५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट रू. ३ अर्ब र आन्तरिक ऋणबाट रू.१ अर्ब २५ करोड परिचालन हुने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।