कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की (फाइल तस्बिर) काठमाडौं– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार अध्यदेशमार्फत् कुल ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका हुन्।
चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थानतर्फ १ करोड विनियोजन गरिएको छ।
त्यस्तै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्प ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिएको छ। प्रदेश सरकारको बजेटले आगामी आवमा ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार जुटाउने प्रक्षेपण बजेटमा छ।
अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटमा उद्योग क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको छ। उद्योग क्षेत्रका लागि ४३ करोड २३ लाख बजेट विनियोजन गरिएको छ। सडक, पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन गरेको छ। बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन गरिएको छ। शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ। वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड विनियोजन भएको छ। प्रदेश सरकारले सुशासनतर्फ ९७ करोड बजेट विनियोजन गरेको उल्लेख छ।
बजेटमा कोशी प्रदेश सभा सदस्यलाई पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। केन्द्रको वजेटमा सांसद विकास कोष ब्युँताएको भनेर आलोचना भइरहँदा कोशीले पनि प्रदेश सभा सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा पैसा वितरण गर्न बाटो खोलेको छ। प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।