काठमाडौं- स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले शीर्ष नेताहरुले बजेटलाई पुर्खाको सम्पत्ति ठानेर आफ्नो जिल्लामा लगेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विषयगत मन्त्रालयको बजेट र खर्च कटौती सम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सांसद सिंहले उक्त आरोप लगाएका हुन्।
आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गर्दा प्रधानमन्त्री निर्वाचित भएको जिल्ला गोरखा, कांग्रेस सभापतिको गृह जिल्ला डडेलधुरा, अर्थमन्त्रीको गृह जिल्ला नुवाकोट र भौतिक पूर्वाधार मन्त्रीको गृह जिल्ला सल्यानमा धेरै बजेट विनियोजन भएको भन्दै सार्वजनिक आलोचना हुँदै गर्दा सांसद सिंहले उक्त विषय संसदबाट पनि उठाएका हुन्।
सांसद सिंहले यस्तो बजेटमाथि छलफल गर्नु बेकार रहेको पनि बताए। ‘४/५ जनाको श्रीसम्पत्ती जस्तै बाँडेर एस म्यान मन्त्रीहरुसँग छलफल गर्नु बेकार छ। मालिकहरु यहाँ बसे पो त छलफल हुन्थ्यो। आफ्नो पुर्खाको सम्पत्ति ठानेर आफ्नै जिल्लामा लानुभएको छ बजेट,’ सांसद सिंहले भने।
साथै, सांसद सिंहले बजेटमाथिको छलफलमा मन्त्री बसेर नहुने सिधै प्रधानमन्त्री भए मात्र छलफलमा सहभागिता जनाउने बताए। ‘मालिकहरु जबसम्म बस्दैनन् यो छलफलको कुनै औचित्य नै छैन। उहाँहरु त गणतन्त्रको राजा। किनभने उहाँहरु जनतामाथि कर लगाउने र हेलिकप्टरमा सयेर गर्ने,’ सांसद सिंहले आक्रोश व्यक्त गर्दै भने,‘साढे तीन करोडको पजेरो चढ्ने। आफ्ना छोराछोरीलाई पीए बनाएर पैसा उठाउन लगाउने। के यही बजेटको औचित्य हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।