काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी मुद्दामा बुधबार नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालकृष्ण खाणको पक्षमा बहस गरेका छन्।
काठमाडौं जिल्ला अदालतमा पूर्ण गृहमन्त्री एवं कांग्रेस नेता खाणको पक्षमा प्रतिरक्षा बहस गर्दै बार अध्यक्ष घिमिरेले खाणलाई हचुवाको भरमा अभियोगपत्र ल्याइएको दाबी गरे। उनले भने, ‘फसाउने नियत राखेर हचुवाको भरमा अभियोगपत्र ल्याइयो। भोलि प्रधानमन्त्री र पार्टी सभापतिसम्म बन्ने क्षमता भएका व्यक्तिलाई अभियोग लगाइएको छ। यसको भर्पाइ र क्षतिपूर्ति कसले ब्यहोर्छ?’
कसलाई खुसी पार्न यस्तो अभियोगपत्र ल्याइयो भन्ने प्रश्न गर्दै घिमिरेले डायरीमा लेखेका भरमा लेनदेन भएको भन्न नमिल्ने दाबी समेत गरे। उनले भने, ‘हस्ताक्षर नै नभएको कागजपत्र पेस गर्दैमा अभियोग प्रमाणित हुँदैन। कसैको राजनीतिक व्यक्तिगत जीवन नै समाप्त पार्न अभियोगपत्र ल्याइएको देखिन्छ।’
बार अध्यक्ष घिमिरेले सचिव टेकनारायण पाण्डेलाई पनि फसाउने नियतले पटकपटक बयानका लागि मेट्रो प्रहरीमा लगेको दाबी गरे। उनले भने, ‘सचिव पाण्डेले आफूले प्रहरीको करकापमा बयान दिएको बताएका छन्। यसले पनि फसाउने नियत प्रष्ट देखिन्छ।’
यस्तै केशव दुलालले पैसा दिएको विषयमा पनि बार अध्यक्ष घिमिरेले प्रश्न उठाए। उनले भने, ‘पैसा दिएको भए कहाँ दिए? मन्त्रालयमा दिए कि अन्तै दिए? मन्त्रालयमा दिएको भए रेकर्ड होला। त्यत्तिकै आरोप लगाउन त मिल्दैन।’
घिमरेपछि वरिष्ट अधिवक्ता ललित बस्नेतले बहस गरे भने त्यसपछि पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले बहस गरेका थिए।
मंगलबार पनि खाणको प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गरेका थिए। बुधबार पनि सुरुमा खाणकै कानुन व्यवसायीले बहस गरे। मंगलबार खाणको प्रतिरक्षामा १० जना वकिलहरुले बहस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।