काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बहस चलिरहेको छ। गत आइतबारदेखि सुरु भएको बहसमा मंगलवार पूर्व गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट प्रतिरक्षा बहस चलिरहेको छ।
पूर्व गृहमन्त्री खाणको समयमा गृह मन्त्रालयमा रहेको फाइलमा नक्कली सूची थपेर अमेरिका पठाउने भन्दै ठगी भएको दाबी अभियोगपत्रमा गरिएको छ। गृहमन्त्री खाणले त्यसका लागि रकम लिएको र मन्त्रिपरिषद्सम्म पुर्याएर निर्णय गराउँदै संगठित रुपमा ठगी गर्ने कार्यमा संलग्न भएको दाबी जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा उल्लेख छ।
उक्त प्रकरणमा प्रहरीले खाणलाई पक्राउ गरेर बयान गराउँदै अदालत पेस गरेको थियो। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस चलिरहेको छ। खाणको बचाउमा उभिएका उनका कानुन व्यवसायी पंकजनाथ कर्णले उनी यो प्रकरणमा संलग्न नै नभएको दाबी गर। उनले खाणको संलग्नता पुष्टि हुने कुनै पनि आधार र प्रमाण अभियोगपत्रमा पेस हुन नसकेकाले अहिले साधारण तारेखमा रिहा गर्नुपर्ने र मुद्दा नै खारेज गर्नुपर्ने माग गरे।
उनले खाण संलग्न नभएको उक्त घटनामा फसाउनका लागि कुनै एक व्यक्तिले आफ्नो मनमा लागेकै भरमा लेखेको डायरीको दुरुपयोग गरेको दाबी गरे। अधिवक्ता कर्णले कुनै एक अभियुक्तले आफ्नो डायरीमा तत्कालीन गृहमन्त्रीको नाम लिँदै केही लेखेकै भरमा भ्रष्टाचारको यत्रो अभियोग लगाउन नमिल्ने जिकिर गरे।
‘डायरीमा नाम लेखेको भरमा मुद्दा लाग्ने भए म यहीँबाट अमेरिकी राष्ट्रपति बनाइदिन्थें,’ उनले भने, ‘केशव दुलाल वा अन्य कुनै प्रतिवादीले आफ्नो डायरीमा बालकृष्ण खाण भनेर लेखेकै भरमा अभियोग लाग्ने हो भने म पनि अमेरिकी राष्ट्रपति हुन्थेँ होला त।’
उनले खाणको अभियोग पुष्टि गर्ने कुनै पनि आधार नभेटिएको दाबी पनि पेस गरे। उनले मोबाइल वा उनीसँग संलग्न कुनै पनि प्रमाण अभियोगका साथमा पेस नभएकाले थुनामा राख्नुको कुनै औचित्य नभएकाले साधारण तारेखमा रिहा गर्नुपर्ने बताए।
‘खाण संलग्न भएको मोबाइल वा अन्य कुनै कुराबाट पनि पुष्टि भएको छैन,’ उनले भने, ‘न पैसा लेनदेनको कुरा आएको छ। न यससम्बन्धी कुनै प्रमाण नै अदालतमा पेस भएको छ।’
उनले बहालवाला सचिव टेकनारायण पाण्डेले एउटा चिठी लेखेकै भरमा निर्दोषमाथि मुद्दा लागउन नमिल्ने जिकिर उनले गरे। उनले थुनछेक बहसकै क्रममा खाणलाई विनासर्त साधारण तारेखमा रिहा गर्नुपर्ने माग पनि अघि सारे। खाणका तर्फबाट करिब ३० जनाभन्दा धेरै कानुन व्यवसायीले बहसको लागि वकालतनामा भरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।