काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो। कार्यक्रममा अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ।
त्यस्तै महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल छन्। कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि देश उर्जामय बनेको बताए। उनले आगामी दिनमा आफूहरुले संसद्मा पेस भइसकेको विद्युत् ऐनका बारेमा सुझावहरु दिनुपर्ने आवश्यक्ता देखिएको बताए।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले इप्पानलाई व्यवस्थित गर्न नसके आउने दिनमा नेपालले ठूलो चुनौती भोग्नुपर्ने बताए। उनले देशको व्यापार घाटा कम गर्न जलविद्युत् क्षेत्रलाई व्यवस्थित र विस्तार गर्नुपर्नेमा जोड दिए। अध्यक्ष मल्लले रुग्ण जलविद्युत् परियोजनालाई पनि समेट्ने गरी इप्पानले काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।