काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसद्मा नेपालको भूमि सामेल गरिएको नक्शा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे।
‘तपाईंहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको छ’, अध्यक्ष लिङ्देनको भनाइ थियो। उनले राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबी समेत गरे।
अध्यक्ष लिङ्देनले भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए। उनले देश संकटमा पर्दा, हिन्दू धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नमिल्ने पटक–पटक दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।