काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन्।
प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधि सभामा र समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भने, ‘समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसद्मा दुई तिहाइ चाहिन्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सक्दैनौं।’
कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै उनले नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिए। सङ्गठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै सुरु गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए।
गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली कांग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानुपर्ने बाध्यता रहेको बताए। गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको उनले दाबी गरे।
कांग्रेस नेता डा शेखर कोइरालाले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनेको आरोप लगाए। उनले भने, ‘जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउछ, राष्ट्रपतिले यसलाई रोक्नु पथ्र्यो, दण्डहीनतालाई प्रश्रय दिने गरी भएका यस्ता निर्णयलाई जनताले नियालिरहेका छन्।’
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउँदै नेता कोइरालाले भने, ‘अहिले निर्वाचन आयोगलाई हामीले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौं। तर सरकारले निर्वाचन आयोगलाई सिडियोको मातहतमा लगेर एउटा कोठामा थन्क्याएर राख्न खोज्दैछ, त्यसले लोकतन्त्र बलियो हुन सक्दैन, लोकतन्त्र बलियो हुन निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ।’
कांग्रेस सत्ता पक्ष भएकाले बजेटमा रहेका कमजोरीलाई संसद्मा उठाउन नसकेको उल्लेख गरे। नेता कोइरालाले भने, ‘संसद्मा बजेटबारे विरोध गर्न सत्तापक्ष भएकाले सकिएन, तर बजेटमा गलत गरेका छौं भनेर मनन गर्ने बेला आएको छ, बजार भाउ अचाक्ली बढिसक्यो, जनतालाई मार पर्ने कार्य गर्नु हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।