काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको आरोप लगाएका छन्।
मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्री प्रचण्डले राख्न नसकेको ओलीको आरोप थियो। शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दूर्भाग्य भएको बताए।
ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो? भन्दै सरकारमाथि कटाक्ष समेत गरे। प्रधानमन्त्री प्रचण्डले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको ओलीले बताए।
उनले भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ। यी दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ। अहिले कोभिड–सोभिडको मारले यस्तो भएको होइन। अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ। युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के गर्या छ? युक्रेनको वारले हो? अस्ती हाम्रा नदीहरु प्रचण्डजीले सित्तैमा दिएर आएको? आफ्नो भूमिको बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो?’
वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वभाविक भएको बताए।
उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी गरे। अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।