काठमाडौं– प्रतिनिधि सभामा सबै भूगोलका लागि समानुपातिक रुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ। सभाको शुक्रबार दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले प्रधानमन्त्री, सत्ता गठबन्धका शीर्ष नेता र अर्थमन्त्रीका गृह जिल्लामा बढी बजेट केन्द्रित गरिएको तर्क गरे।
उत्पादनमूलक अर्थतन्त्रलाई ध्यान दिँदै समग्र विकास केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनीहरूले विद्यमान आर्थिक सङ्कटको मोचन गर्ने बाटोमा बजेट लक्षित नभएको टिप्पणी गरे। छलफलमा सांसद् देवप्रसाद तिमिल्सिना, दामोदार भण्डारी हृदयराम थानी, पूर्णबहादुर तामाङ, देवीप्रसाद भट्टचन, तेजुलाल चौधरी, चन्द्रबहादुर विश्वकर्मा, सुशीला थिङ, सराद अहमद फारुकी, सरिता भुसाल, हर्कमाया बिक, प्रेमबहादुर महर्जन, महेशकुमार बर्तौलाले भाग लिएका थिए।
प्रतिनिधि सभाको आगामी बैठकमा पनि सो बजेटमाथिको छलफल जारी रहनेछ। उक्त छलफल र अर्थमन्त्रीले जवाफ दिनका लागि जेठ २८ गतेको समय थप गरिएको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराए। शुक्रबारको बैठकमा संविधान सभामा मन्त्रिपरिषद्को सिफारिशमा मनोनित तत्कालीन सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २८ गते आइतबार बिहान ११ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।