नेसपा अध्यक्ष डा बाबुराम भट्टराई (फाइल तस्बिर)
काठमाडौं– डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहित विचार र राजनीतिक अजेन्डा मिल्ने पार्टीहरुसँग एकताको पहल गर्ने निर्णय गरेको छ।
जेठ २५ र २६ गते गरी २ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले माओवादीसहित विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको हो। बैठकको निर्णयमा भनिएको छ, ‘माओवादी केन्द्र लगायत विचार र राजनीतिक अजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने।’
नेसपाले समाजवादी केन्द्र तथा ध्रुव निर्माणको लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि प्रस्ताव पठाएको थियो। बैठकले माओवादी केन्द्रबाट औपचारिक जवाफ आएपछि थप निर्णय गर्ने निर्णय समेत गरेको छ।
२ दिनसम्म चलेको बैठकमा अध्यक्ष तथा सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भएको थियो। छलफलपछि प्रस्ताव पारित भएको जनाइएको छ। बैठकले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।