काठमाडौं– चालु आर्थिक वर्ष २०७९/०८० को १० महिना (२०७९ साउनदेखि २०८० वैशाख) सम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ। राष्ट्र बैंकको प्रतिवेदनमा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको दाबी गरिएको छ।
रेमिट्यान्स बढेको, विदेशी मुद्राको सञ्चिति करिब १० महिना पुग्नसक्ने अवस्थामा पूग्न लागेको, मूल्यवृद्धि घटेको र शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा देखिएको छ।
विदेशी मुद्राको सञ्चिति ९.७ महिनाको आयात धान्ने अवस्थामा
चालु आर्थिक वर्षको सुरुदेखि नै चापमा रहेको वैदेशिक मुद्राको सञ्चिति पछिल्लो समय भने झण्डै १० महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार अहिले १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ।
यो चैत महिनासम्मको सञ्चितिभन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ बढी हो। चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो। उक्त समयमा ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने अवस्था थियो। १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ।
२०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो। वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो। अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ।
रेमिट्यान्स पनि बढ्यो
पछिल्लो समय देशमा विप्रेषण (रेमिट्यान्स)को आप्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ७० करोड अमेरिकी डलर भित्रिएको देखिएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।
१० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भइ ४ लाख २१ हजार २७९ पुगेको छ।
यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १० महिनामा ३.७ प्रतिशतले वृद्धि भइ २ लाख ३८ हजार ९७६ पुगेको छ।
मुल्यवृद्धि घट्यो
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार मूल्यवृद्धि पनि घटेको छ। वैशाख मसान्तसम्म उपभोक्ता मुद्रास्फिति ७.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति भने ९.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फिति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति ३.३१ प्रतिशत रहेको छ। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ।
शोधनान्तर स्थिति २ खर्ब १४ अर्बले बचतमा
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) पनि बचतमा गएको छ। सामान्यतया मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम बढेपछि शोधनान्तर स्थिति बचतमा रहन्छ।
वैशाख मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।
राष्ट्र बैंकका अनुसार १० महिनाको अवधिमा विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।