काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुद्रास्फिति ७.४१ प्रतिशत कायम भएको छ।
यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।
त्यस्तै कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर भएको छ। विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ। यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ।
त्यस्तै आयात १६ दशमलव आठ प्रतिशतले, निर्यात २४ दशमलव पाँच प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५ दशमलव ९ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।
संघीय सरकारको खर्च १० खर्ब
वैशाख मसान्तसम्ममा संघीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। त्यस्तै सरकारले राजस्व परिचालन सात खर्ब ५६ अर्ब २५ करोड गरेको राष्ट्र बैंकले जनाएको छ।
यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन सात दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव तीन प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।