काठमाडौं- नामकरणको विषयमा कोशी प्रदेशमा आफ्ना नेता/कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ माग गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमालेले गृहमन्त्रीको जवाफ नआउन्जेल सदनका कार्यक्रम चल्न नदिने अडान लिएको छ।
प्रतिनिधि सभामा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्ना कार्यकर्तामाथि भइरहेको आक्रमणमा सरकार मुकदर्शक भएको आरोप लगाए।
‘हिजो मात्रै हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामाथि इलाममा सांघातिक हमला भएको थियो। हाम्रा साथीहरुले प्रतिवाद गर्नुभयो। गाईघाटमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारको गाडी तोडफोड भएको छ,’ सांसद भट्टराईले भने।
उनले गृहमन्त्रीको स्पष्ट जवाफ माग गरेका छन्। ‘आज हामी गम्भीरताका साथ माननीय गृहमन्त्रीलाई यो के भइरहेको छ भन्ने सोध्न चाहन्छौं। गृहमन्त्रीजी, यदि तपाईंले हाम्रो सुरक्षा दिनुहुन्न भने एमालेको सुरक्षा एमालेले गर्छ,’ उनले भने,‘यसको स्पष्ट जवाफ गृहमन्त्रीबाट चाहन्छौं। यदि दिनुहुन्न भने हाम्रो विरोध जारी रहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।