काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने टिप्पणी गरेका छन्।
बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको बताए।
उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको पनि बताए। उनले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताए।
अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वासमा सरकार रहेको उनले बताए।
आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताउँदै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।