काठमाडौं- प्रतिनिधि सभाको बिहीबारको बैठकमा दुई सांसदले राखेका शब्दहरु रेकर्डबाट हटाउन निर्देशन दिइएको छ।
सांसदहरु विनोद चौधरी र डिल्लीराज पन्तले आफ्नो धारणा राख्ने क्रममा प्रयोग गरेका शब्द सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
प्रतिनिधि सभामा केही दिनयता जारी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै बिहीबार कांग्रेस सांसद चौधरीले भनेका थिए, ‘… जब धान रोप्ने बेला सुरु हुन्छ। सरकार रासायनिक मलको खोजीमा हतारिन्छ। जब पर्यो राति, तब … भन्ने हाम्रो उखान नै छ। यस्तो प्रवृत्तिलाई कायम राखेर हामीले हाम्रा किसानको अनुहारमा अलिकति पनि खुसी भर्न सक्ने छैनौं।’
त्यसपछि एमालेका केही सांसदहरु उठेका थिए। सभामुखले बोल्न समय दिएपछि सांसद् दीपा शर्माले चौधरीको उक्त उखानप्रति आपत्ति जनाइन्। उनले भनिन्, ‘नियमावली को २१ ‘घ’ मा लेखिएको छ- सम्मानित सदनमा कसैलाई अपमान गर्ने कुरा हुँदैन। नेपाली उखानलाई लिएर जहिल्यै पनि नेपाली महिलामाथि आक्रमण गर्ने गरिन्छ। यो कुरा कहिलेदेखि अन्त्य हुन्छ? म सोध्न चाहन्छु। उखान टुक्का गर्दा यो सदनमा महिलामाथि नै बोलिनुपर्ने? कहिलेदेखि नेपालको समाजवलाई सुसंस्कृत, सभ्य र समान खालको समाज बनाउन चाहन्छौं? यो आपत्तिजनक शब्द छ, जब पर्यो राति तब … भन्ने उखान धेरै माननीयको मुखबाट सुनेका छौं। यो रेकर्डबाट काटियोस्। आजका दिनदेखि कुनै पनि माननीय सांसदहरुले महिलाका नाममा विगतमा परम्परागत ढंगले बोलिने त्यस्ता शब्दावली प्रयोग गरिने कुराको अन्त्य गरियोस्।’
उनले नियमापत्ति गर्नासाथै सभामुख देवराज घिमिरेले चौधरीले प्रयोग गरेका ती शब्द हटाउन निर्देशन दिए।
सभामुखले भने, ‘वक्त माननीय सदस्यले छलफलमा भाग लिएर बोलिरहँदाखेर ‘जब पर्यो राति, तब …’ भन्ने शब्दावली प्रयोग गर्नुभयो। जो लैंगिकमैत्री नभएकाले गर्दा रेकर्डबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु।’
केही बेरपछि कांग्रेसकै सांसद पन्तले अपांगता भएकाप्रति लक्षित उखान प्रयोग गरे। उनले भनेका थिए, ‘देश आर्थिक संकटमा परेका बेलामा छोटो समयमा अर्थमन्त्रीजीले यो बजेट ल्याउनुभएको छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु। त्यो आफैंमा पूर्ण त छैन। पहिला पनि हुँदैनथे, अहिले पनि छैन। तापनि एउटा भनाइ छ, … मामा हुनुभन्दा … मामा बेस भनेझैं यो बजेटलाई म समर्थन गर्दछु।’
उनको भनाइप्रति नियमापत्ति गरे रास्वपाका सांसद हरि ढकालले। उनको भनाइ थियो, ‘माननीयज्यूले बोल्दै गर्दा शारीरिक रुपमा अशक्तहरुलाई आघात पुग्नेगरी अभिव्यक्ति आएको छ। म नियम २१ ‘घ’ अनुसार नियमापत्ति गर्न चाहन्छु। उक्त शब्द रेकर्डबाट हटाइयोस्।'
ढकालले बोलिसक्नेबित्तिकै रोस्ट्रममै रहेका पन्तले ‘म क्षमा चाहन्छु’ भने।
पन्तको सम्बोधन सकिएपछि सभामुखको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले पन्तले प्रयोग गरेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन्। ‘माननीय सदस्यले बोल्दा (प्रयोग गर्नुभएको) मामा नहुनुभन्दा … मामा नै निको भन्ने उखान सार्वजनिक शिष्टाचार अनुकूल नभएकोले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु’, उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।