काठमाडौं– नामकरणको कारण आन्दोलन भएको कोशी प्रदेशमा एमाले कार्यकर्तामाथि संघीय सरकारका दल निकट कार्यकर्ताको मिलोमतोमा हमला भएको भन्दै एमालेले आपत्ति जनाएको छ।
उक्त विषयमा सदनलाई जानकारी गराउन माग गर्दै अन्यथा प्रतिनिधि सभाको आसन्न बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले उक्त चेतावनी दिएका हुन्।
बिहीबार मात्रै एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना माथि मोबिल छर्केर आगो लगाउने प्रयास भएको एमालेको दाबी छ। यस्तै, प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई चढेको गाडीमा पनि ढ्ङ्गा मुढा भएको भन्दै एमालेले आपत्ति जनाएको छ।
यस्तै, सांसद गिरीले यस्तो सहन नसक्ने भन्दै प्रतिकारमा उत्रिने चेतावनी पनि दिएका छन्।
‘हामी भन्न चाहान्छौं सत्तारुढ दलका कार्यकर्ता समेत भएका आक्रमणकारी समूहमा को–को थिए। ति कुरा सरकारले यथाशिघ्र सदनलाई जानकारी गराओस्। होइन भने भोलिका दिनबाट सदन अगाडि बढ्न नदिने कुरा पनि म यहाँ राख्न चाहान्छु,’ सांसद गिरीले भने।
यसअघि आजै भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नाम राखेपछि सुरु भएको पहिचानको आन्दोलनमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको संलग्नता रहेको आरोप लगाएका थिए।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा बोल्दै उनले यस्तो आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।