काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताए।
उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए। उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गरे। उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए।
उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए। अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरे पनि सफल नबनेको दाबी गरे।
पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको ओलीले जिकिर गरे। ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ। सरकार केही गर्दैन। प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ। पहिचानका नाममा एउटै मानिसहरु बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा। कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के–के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरु भइरहेका छन्’, उनले भने।
अध्यक्ष ओलीले कोशी प्रदेशको ठाउँमा किराँत राखेको भए गैर किराँतहरु त बस्नै नपाउने अवस्था आउने बताए।
उनले भने, ‘नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौं नि। नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो। गैर किराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त।’ यस्तो दंगामा प्रचण्डहरुकै प्रत्यक्ष संलग्नता देखिएको आरोप लगाए।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम आफै सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।